पाँचौंपटक प्रधानमन्त्री बनेका देउवाको राजनीतकि यात्रा

उज्याले रैबार   ।   २०७८ असार ३०, बुधबार ०८:०६

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारबाट बाहिरिएको ४० महिनापछि फेरि प्रधानमन्त्री नियुक्त भएका छन्। उनी पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका हुन्। मंगलबार प्रधानमन्त्री बनेका देउवाले मंगलबार राति नै पद तथा गोपनीयताको शपथ लिएका छन्।
देउवा २०५२ भदौमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। उनको सरकार फागुन २०५३ सम्म कायम रहेको थियो। त्यसपछि २०५८ साउनमा देउवा दोस्रो पटक प्रधानमन्त्री बने। कांग्रेस संसदीय दलको नेताको चुनावमा सुशील कोइरालालाई पराजित गरेर उनी दोस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका थिए। तर, उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले १८ असोज २०५९ मा घोषित निर्वाचन गराउन नसकेको भन्दै अपदस्थ गरेका थिए।

प्रधानमन्त्रीको दोस्रो कार्यकालकै बेला पार्टीको आन्तरिक विवादका कारण उनले नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए। उनी २०६१ जेठमा तेस्रोपटक प्रधानमन्त्री बने। तर, २०६१ माघ १९ मा ज्ञानेन्द्रले उनलाई फेरि हटाए, ‘अक्षम’ करार गर्दै।

२०६४ सालमा देउवाले कांग्रेस (प्रजातान्त्रिक) लाई कांग्रेससँग एकीकरण गराए। देशको सत्ता तीन पटक सम्हालिसकेका देउवाले १३औं महाधिवेशनमा पार्टी नेतृत्व पनि सम्हाल्ने अवसर पाए। २०७२ फागुनमा भएको महाधिवेशनमा रामचन्द्र पौडेललाई हराएर उनी सभापति चयन भएका थिए। जेठ २०७४ मा उनले चौथोपटक प्रधानमन्त्री बन्ने अवसर पाए। संघीय संरचना अनुसार तीनै तहको निर्वाचन गराएर उनले फागुन २०७४ मा सत्ता छोडेका थिए।

राजनीतिक यात्रा
२००३ सालमा डडेलधुराको असीग्राममा जन्मेका देउवाले प्राथमिक र निम्न माध्यमिक तहको अध्ययन डडेल्धुरामै गरे, माध्यमिक तह भने डोटीको सीताराम मावि उच्चकोटबाट पूरा गरेका थिए। त्यहीबेलादेखि नै उनी कांग्रेस राजनीतिमा आकर्षित भएका थिए। २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएपछि उनको विद्यार्थी राजनीति औपचारिक रुपमै अघि बढ्यो।
पार्टीहरुलाई प्रतिबन्ध लगाएको अवस्थामा सक्रिय रहेको कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघको उनी दोस्रो अध्यक्ष भए। २०२८ सालमा नेवि संघको नेतृत्व सम्हालेका उनी २०३६ सालसम्म सोही पदमा रहे। विद्यार्थी राजनीति हाँकेर देखाइसकेका देउवालाई कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले सुदूरपश्चिममा पार्टीको जिम्मेवारी दिएका थिए।

२०४६ सालको जनआन्दोलन चर्कंदै गर्दा देउवा बेलायतमा अध्ययनरत थिए। लन्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गरेका उनी जनआन्दोलन सफल भएको अर्को वर्ष, २०४७ सालमा नेपाल फर्केका थिए। २०४८ सालमा भएको निर्वाचनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पहिलो पटक उनी मन्त्री भए। पहिलो पटक सरकारमा सहभागी हुँदा नै उनले शक्तिशाली मानिने गृहमन्त्रालयको जिम्मेवारी पाएका थिए।

देउवाले कांग्रेसको पार्टी राजनीतिमा कृष्णप्रसाद भट्टराईको निकट रहेर काम गरे। कोइराला परिवारसँग उनको निकटता रहेन। परिणामतः कोइराला परिवारसँग महाधिवेशनमा उनको प्रतिस्पर्धा भइरह्यो।

२०५७ सालमा भएको नेपाली कांग्रेसको १०औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका उनी पराजित भए।

देउवा २०४८ सालमा पहिलोपटक संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भएका थिए। त्यसपछि भएका हरेक संसदीय र संविधानसभा निर्वाचनमा उनी विजयी भएका छन्। उनी २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ गरी ६ पटक डडेल्धुराबाट निरन्तर विजयी भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वासको मतका लागि प्रस्ताव दर्ता, देउवालाई एमालेका कम्तीमा ८ सांसदको साथ आवश्यक

२०७८ असार ३०, बुधबार ०८:०६
काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् । […]