कर्णालीका २७ हजार विद्यार्थी पढाइबाट बञ्चित

उज्यालो रैबार   ।   २०७८ कार्तिक २९, सोमबार १५:३४

सुर्खेत । कर्णाली प्रदेशको शिक्षा क्षेत्रमा कोरोनाले निकै प्रभाव पारेको एक अध्ययनले देखाएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले गरेको अध्ययनमा कोरोनाका कारण कर्णालीका २७ हजारभन्दा बढी बालबालिका पढाइबाट वञ्चित भएको देखिएको जनाइएको हो ।


कुल विद्यार्थीको नौ प्रतिशत अर्थात् २७ हजार विद्यार्थी शिक्षा पाउनबाट वञ्चित भएको अध्ययनमा उल्लेख छ । भौगोलिक विकटता र वैकल्पिक माध्यमको अभावका कारण २७ हजार भन्दा बढी विद्यार्थी कोरोना महामारीका कारण पढाइबाट पूर्ण रूपमा वञ्चित भएका छन् । उनीहरूले अनलाइन, रेडियो र टेलिभिजन जस्ता वैकल्पिक माध्यमबाट समेत शिक्षा लिन नपाएकोअध्ययनमा उल्लेख छ ।

कालीकोट, मुगु, हुम्ला र डोल्पाका धेरै विद्यार्थी कोरोना महामारीका कारण पढाइबाट पूर्ण रूपमा वञ्चित हुन पुगेको सो अध्ययनमा उल्लेख छ । प्रदेशका तीन लाखभन्दा बढी विद्यार्थीमध्ये ८३ प्रतिशत अर्थात् दुई लाख ४९ हजार विद्यार्थी कोरोना महामारीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । प्रभावित हुने विद्यार्थीमा दुर्गमको तुलनामा सुगम क्षेत्रका विद्यार्थी कम छन् । प्रदेशका ५७ प्रतिशत विद्यार्थी अनलाइन शिक्षाको पहुँचमा छैनन् ।

अनलाइनको पहुँचमा नभएका विद्यार्थीले कोरोना महामारीमा रेडियो तथा टेलिभिजनबाट अध्ययन गरेका छन् । सदरमुकाम र सुगम क्षेत्रका केही विद्यार्थीले वैकल्पिक माध्यमबाट शिक्षा लिएको अध्ययनमा उल्लेख छ । प्रदेशमा कुल विद्यार्थीमध्ये १८ प्रतिशत अर्थात् ५४ हजार विद्यार्थी मात्रै विद्युत्को पहुँचमा छन् । विद्युत्को पहुँचमा भएका केही विद्यार्थीले भने इन्टरनेट तथा मोबाइलको अभावमा शिक्षा लिन पाएका छैनन् ।अध्ययनअनुसार प्रदेशका ६ प्रतिशत अर्थात् १८ हजार विद्यार्थीले भने कोरोना महामारीमा पनि सहज रूपमा शिक्षा लिन पाएको अध्ययनले देखाएको छ । कोरोनाका कारण विगत दुई वर्षदेखि साक्षर अभियान नै प्रभावित भएको सामाजिक विकास मन्त्रालय शैक्षिक विकास महाशाखाका प्रतिनिधि बलवीर सुनारले बताए । प्रदेशका १० जिल्लामध्ये हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोट हालसम्म साक्षर जिल्ला घोषणा हुन बाँकी छन् ।

ती जिल्लामा अझै चार लाख ७७ हजार ८४१ जना निरक्षर छन् । तथ्याङ्कअनुसार १५ देखि ६० वर्ष उमेर समूहका १२ हजार ६४८ जना नागरिक निरक्षर छन् । १५ वर्षदेखि ६० वर्ष उमेर समूहका कालीकोटमा चार हजार २७० जना, मुगुमा तीन हजार दुई सय जना, जुम्लामा दुई हजार ८६० जना, हुम्लामा एक हजार ७६३ जना र डोल्पामा पाँच सय ५५ जना नागरिक निरक्षर छन् । सुनारले कोरोना महामारीका कारण दुई वर्षदेखि साक्षर अभियान नै पूर्ण रूपमा रोकिएको बताए ।

सरकारले छिट्टै प्रदेशलाई साक्षर बनाउने लक्ष्य लिए पनि कोरोनाका कारण अभियान प्रभावित भएको उनको तर्क छ । अभियानका कर्णाली प्रदेश सहसंयोजक मधुरानी ढकालले दीर्घकालीन यो जनासहितको लगानी नभएसम्म शिक्षा क्षेत्रमा सुधार नहुने बताइन । उनले अध्ययनलाई हेर्ने हो भने कर्णालीमा गुणस्तरीय शिक्षाको पहुँच हुन अझ धेरै समय लाग्ने जानकारी दिइन । अभियानका केन्द्रीय कोषाध्यक्ष टीकाराम आचार्यले कर्णालीको शिक्षामा सुधार गर्न धेरै मेहनत गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीकाे मन्त्रिमण्डल विस्तार मंसिरको पहिलो साताभित्र हुने

२०७८ कार्तिक २९, सोमबार १५:३४
सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्न ढिलाइ भएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बनेको झन्डै दुई साता बित्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता नपाएको हो । सत्ता गठबन्धनका नेताहरू बाहिर रहेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । पूर्वमुख्यमन्त्री शाही बिरामी भई काठमाडौ गएका छन् भने नेकपा एकिकृत समाजवादीका नेता […]