मध्यराती वीरेन्द्रनगरका चार पसलमा चोरी, व्यापारी त्रसित (भिडियाे रिपाेर्ट)

ujyaaloraibar   ।   २०७७ माघ १८, आईतवार १६:४७

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पछिल्लो समयमा चोरीका घटनाहरु एकपछि अर्को गर्दै बढ्दै गएका छन् । राजधानीको बजार नै असुरक्षित बनेपछि अन्य क्षेत्रका नागरिकहरुले कसरी सुरक्षाको अनुभूति गरिरहेका छन् भन्ने ज्वलन्त उदाहरण गएराती भएका चोरीका घटनालाई नियाले पुग्छ ।

वीरेन्द्रनगरका गल्ली गल्लीमा एकपछि अर्को गर्दै चोरीका घटना बढ्दै जानथालेपछि व्यापारी झन त्रसित बनेका छन् । २४ सैं घण्टा प्रहरीको उपस्थिति हुने बजार क्षेत्रमा दिनानुदिन चोरीका घटनाले प्रहरीले गर्ने सुरक्षाप्रति नै व्यापारीहरु नै आशंकित बन्नु पर्ने अवस्था आएको बताउँन थालेका छन् ।

ताला लगाइएका सटरहरु र अफिसहरुमा मध्यराती चोरी पसेर लुटपाट मच्चाउन थालेपछि आफ्नो व्यापारको आफै जाग्राम बसेर सुरक्षा गर्नुपर्ने अवस्था आउन थालेकोमा चिन्तत छन् ।

गएराती वीरेन्द्रनगरको न्यूरोडमा रहेका चार पसल एकै समयमा चोरी भएका छन् । न्यूरोडस्थित दोस्रो तलामा रहेको ट्रस एजुकेशन सेन्टरको अफिसमा चोरहरुले गेटको ताला फुटाएर नगद ४० हजार र दुई ल्यापटप चोरेका छन् । यस्तै बाल क्लिनिकबाट न्यूरोडतर्फ निस्कने मार्गमा रहेको सौर्य वल्डवाईड एक्सप्रेस कुरियरको सटर फुटाएको छ ।

कुरियरमा रहेका महत्वपूर्ण कागजात न्यूरोडको उत्तरतर्फको चौकको नालीमा फालिएको अवस्थामा भेटिएका छन् । साथै, कुरिएर भएर आएका अनलाइन सामग्री चोरले लुटपाट गरेका छन् भने, सरकारी कागजात च्यातिएका छन् । त्यही कुरियर भएको अगाडी रहेका आकृति फोटो कपि एण्ड डेस्कटप पसलबाट नगद पाँच हजार र एसी टेक्नोलोजीबाट एक ल्याप चोरी भएको छ ।

पोसाक तथा सादा पोसाकसहितका प्रहरी ड्यूटी हुदाँ पनि चोरीका घटना नरोकिदा व्यापारीहरु त्रसित बन्नु पर्ने अवस्था आएको छ । गएराती मात्रै हैन यसअघि पनि केही दिन विराएर दिनुहुँ चोरीका घटनाहरु भइरहेका छन् ।

गएराती चोरी भएको स्थानबाट नगर प्रहरी कार्यालय झण्डै तीन सय मिटर र जिल्ला प्रहरी कार्यालय पाँच सय मिटरको दुरीमा छ । कतिपय चोरीका घटना प्रहरी ड्यूटी बसेकै स्थान वरपरबाट हुने गरेका छन् । दिनहुँ जसो चोरीका घटना हुन्छन् । तर प्रहरी रेकर्डमा भने सबै घटना आउँदैनन् । चोरीका घटना अनुसार मुद्दा दर्ता हुने संख्या निकै कम छ । यदी मुद्दा दर्ता भएपनि चोर भने पक्रिदैनन् ।

गत पुसमा वीरेन्द्रनगर १ ढोडेखाली स्थित एक घरमा चोरी भयो । उक्त घटनामा संलग्नलाई स्थानीयको सक्रियतामा पक्राउ गरी प्रहरी समक्ष बुझाईएको छ । अधिकांश चोरीका घटनामा संलग्न व्यक्ति प्रहरी भन्दा स्थानीयको पहलमा नै पक्राउ हुने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांक अनुसार चालु आर्थिक वर्षको हालसम्म १९ वटा मात्रै चोरीका मुद्दा दर्ता भएका छन् । समाजमा हुने चोरीका घटनाको आधारमा दर्ता भएका मुद्दाको संख्या यो निकै कम हो । चालु आर्थिक वर्षको असार महिनायता हालसम्म दर्ता भएका १९ वटा मुद्दामध्य १२ मुद्दमा १६ पुरुष र एक महिला पक्राउ परेका छन् भने एक पुरुष फरार छन् । यस्तै सात वटा मुद्दामा प्रहरीले चोर पक्राउ गर्न सकेको छैन ।

यता प्रहरीले चोरीका घटना न्यूनिकरण गर्न प्रहरीले विषेश रणनीति अपनाएको दावी गर्दै आएकोछ । तर गत कार्तिकमा घरबाट एटिएम चोरेर एभरेष्ट बैंकको एटिमबाट नगद निकाल्ने चोर सिसि क्यामरामा रेकर्ड भएपछि सुर्खेत प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन् । प्रहरीका अनुसार चोरीका घटनामा परिवारको संरक्षण विहिन (फिरन्ते) बालबालिका बढी संलग्न छन् ।

घर तथा पसलमा कोही नभएको मौका छोपी ताला फोडेर सामान चोरी गर्ने प्रकृतिका घटना बढिरहेका छन् । प्रदेश राजधानीमा रहेको वीरेन्द्रनगरको सुरक्षामा प्रहरी गम्भीर बन्न सक्दैन् भने दुरदराजका नागरिकहरुलाई कसरी सुरक्षा प्रदान गरिरहेको छ भन्ने गजवको प्रश्न प्रहरीतर्फ तेर्सिएको छ । आगामी दिनमा प्रहरीले आफ्नो सुरक्षा व्यवस्थालाई कडाइका साथ लागु गर्छ या यसरी नै दिनानुदिन चोरीका घटनाले व्यापारीहरुलाई थप त्रसित बनाउनछ त्यो भने केही दिन कुर्नै पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कक्षा १२ को नतिजा सार्वजनिक

२०७७ माघ १८, आईतवार १६:४७
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि बोर्डले जानकारी दिएको छ । वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा […]