सुर्खेत विमानस्थल विस्तार नहुने निश्चित

उज्यालो रैबार   ।   २०७८ मंसिर ३, शुक्रबार १२:२८

सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारको काम अनिश्चित बनेको छ । विमानस्थल विस्तार गर्न प्रदेश र संघीय सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भए पनि काम भने अनिश्चित बनेको हो । समझदारी पत्रमा हस्ताक्षर भएको ५ महिनापछि गत वर्ष फागुन २८ गते विमानस्थलको उत्तर र पश्चिमतर्फ मात्रै विमानस्थल विस्तार गर्ने निर्णय भएको थियो ।

विस्तारका लागि जग्गा अधिग्रहण गर्दा आफूहरूको उठीबास हुने भन्दै वीरेन्द्रनगर नगरपालिका–१०, ११ र १२ नम्बर वडाका स्थानीयले अन्य कुनै विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् । स्थानीयको मागलाई साथ दिँदै वीरेन्द्रनगर नगरपालिकाले पनि माघ ५ गते विस्तार कार्य तत्काल रोक्न प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै पत्र लेखेको थियो । विमानस्थलको धावनमार्ग विस्तार गर्दा नगरपालिकाको १०, ११ र १२ वडाका २ सय ७६ घर, ३ वटा सरकारी विद्यालय, ३ वटा निजी विद्यालय, स्वास्थ्यचौकी, ४ सहकारीलगायत संरचना मासिने नागरिक सरोकार समितिले जनाएको छ । विमानस्थल विस्तार गर्ने भन्दै रोक्का गरिएको जग्गा फिर्ता दिइसकिएको छ । विस्तारको काम कहिले अगाडि बढ्ने भन्ने टुंगो अझै लाग्न सकेको छैन ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले आफूहरूले संघीय र प्रदेश सरकारलाई बारम्बार मागपत्र पेस गरिरहेको बताए । ‘विमानस्थल अहिलेकै ठाउँमा विस्तार हुनुपर्छ,’ उनले भने, ‘विमानस्थल नहुँदा आन्तरिक तथा बाह्य पर्यटक भित्रिन नसकेको अवस्था छ, अहिले यहाँका नागरिकलाई नेपालगन्जदेखि उडान गर्नुपर्ने बाध्यता छ ।’ उनले वीरेन्द्रनगर नगरपालिकाले स्थानीयलाई क्षतिपूर्ति दिन सक्दनौं भनी सरकारलाई पत्र काट्नु गैरजिम्मेवार भएको बताए । ‘नगरपालिका यो कामका लागि पछि हट्नु हुँदैन,’ उनले भने, ‘सरकारकै पैसा दिनुपर्नेमा क्षतिपूर्ति दिन सक्दैनौँ भन्नु गलत हो ।’ उनले ३ सय ५० मिटर मात्रै विस्तार गरे पनि ठूला जहाज अवतरण गर्न पुग्ने दाबी गरे ।

नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख सोहनराज जोशीले तत्कालका लागि विस्तारको काम रोकिए पनि लामो समय नरोकिने बताए । उनका अनुसार नयाँ गठन भएको प्रदेश सरकारको पहलमा चाँडै नै विमानस्थलको काम सुरु हुनेछ । तर काम नभएपछि गत आर्थिक वर्षमा छुट्याइएको प्रदेश सरकारको ५० करोड र संघीय सरकारको ५१ करोड रुपैयाँ बजेट पनि फ्रिज भइसकेको छ । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा सुर्खेत र भरतपुर विमानस्थल विस्तारका लागि डेढ अर्ब रुपैयाँ छुट्याएको छ । प्राधिकरणका अनुसार उत्तरतर्फ ५ सय १० मिटर विस्तार गर्ने गरी प्राविधिक टोलीले अन्तिम नक्सा तयार पारेको छ ।

विमानस्थलको धावनमार्ग १ हजार २ सय ५५ मिटर छ । यसमा ३ सय मिटर बढाएर १ हजार ५ सय मिटर पुर्‍याउने गरी प्रक्रिया अघि बढाइएको थियो । संघीय सरकार र प्रदेश सरकारबीच समझदारी भई अघि बढाइएको प्रक्रिया स्थानीयको अवरोधका कारण रोकिएको हो । यसअघि धावनमार्गको उत्तरतर्फ विस्तारका लागि लम्बाइ ४ सय ६० मिटर, दक्षिणतर्फ करिब २ सय मिटर र चौडाइतर्फ १ सय ६० मिटर क्षेत्र विस्तार गर्ने प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस नगर अधिवेशन : ८ पालिकामा खड्का र एक पालिकामा थानी पक्ष विजयी

२०७८ मंसिर ३, शुक्रबार १२:२८
सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सुर्खेतका नौ वटै पालिकाको नतिजा आएको छ । नतिजा आएका ८ वटा पालिकामा संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवा अर्थात् महामन्त्री पूर्णबहादुर खड्काको प्यानल नै नेतृत्वमा विजयी भएको हो । तर रामचन्द्र पौडेल अर्थात् हृदयराम थानीको प्यानले एक पालिकाको नतिजा मात्र हात […]