वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट तयार

उज्यालो रैबार   ।   २०७८ पुष २८, बुधबार १०:२१

सुर्खेत। वीरेन्द्रनगरमा मेडिकल अक्सिजन उत्पादनका लागि प्लान्ट निर्माण गरिएको छ । ठूलो क्षमताको प्लान्ट बनेसँगै अब अक्सिजनको अभाव नहुने बताइएको छ । वीरेन्द्रनगर नगरपालिकाद्वारा सञ्चालित कटकुवा नगर अस्पताल परिसरमा अक्सिजन उत्पादनका लागि प्लान्ट जडान गरिएको हो । उक्त प्लान्टबाट परीक्षण उत्पादनसमेत गरी सकिएको छ । प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको नगरपालिकाले जनाएको छ । झन्डै डेढ करोडको लगानीमा प्लान्ट जडान गरिएको हो । दोस्रो चरणको कोरोना महामारीमा अक्सिजन अभाव हुने आकलन गरेर नगरपालिकाले चौधरी ग्रुुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो ।

हाल प्लान्ट बनिसकेको र उत्पादनका लागि तयारी अवस्थामा रहेको नगरपालिकाका जनस्वास्थ्य शाखा निरीक्षक भूूपेन्द्रदेव गिरीले बताए । उनका अनुसार प्लान्टबाट २४ घण्टामा ४० लिटरका एक सय ५० वटा सिलिन्डर भर्न सकिने छ । उत्पादन क्षमता धेरै भएकाले यसले प्रदेशभरकै मेडिकल अक्सिजन अभाव टार्न मद्दत पुुग्ने अपेक्षा गरिएको छ । अस्पतालहरूमा अक्सिजनको आवश्यकता पर्नासाथ प्लान्ट सञ्चालनमा ल्याइने जनाइएको छ ।

‘अब जुनसुकै बेला अक्सिजन भर्न सकिन्छ । अक्सिजन अभावको समस्या रहँदैन,’ गिरीले भने, ‘यहाँबाट अन्य जिल्लामा पठाउन पनि सहज हुनेछ ।’ वीरेन्द्रनगरमै प्लान्ट सञ्चालन गर्न लागिएकाले यसले कोरोना संक्रमणका गम्भीर बिरामीदेखि श्वास–प्रश्वासमा समस्या भएकालाई उपचारमा निकै राहत हुने जनाइएको छ । कर्णालीमा गत वर्ष मेडिकल अक्सिजनको हाहाकार भएको थियो । अस्पतालहरूमा अक्सिजन नहुँदा कतिपयले उपचारसमेत नपाएर ज्यान गुमाएका थिए । त्यही अवस्था फेरि नदोहोरियोस् भनेर धेरै परिमाणमा अक्सिजन उत्पादन गर्ने प्लान्ट निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश अस्पतालका सबै कर्मचारीको बीमा गरिने

२०७८ पुष २८, बुधबार १०:२१
सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पतालका सबै स्वास्थ्य कर्मचारीको स्वास्थ्य बीमा गर्न थालिएको छ । अस्पतालमा कार्यरत कार्यालय सहयोगीदेखि मेडिकल निर्देशकसम्म गरी करिब ३५० जना स्वास्थ्य कर्मचारीको स्वास्थ्य बीमा गर्न थालिएको हो । बुधबार स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश प्रमुख अर्जुन पण्डितले अस्पतालका निर्देशक प्रा।डा। डम्बर खड्कालाई स्वास्थ्य बीमा कार्ड उपलब्ध […]