गजेन्द्र महतले संसदमै बुझाए ताला चाबी

उज्यालो रैबार   ।   २०७९ जेष्ठ १४, शनिबार १६:५१

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएका छन्। प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उनले बताए।

तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला अवरोध गरेको सांसद महतको भनाइ छ । शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले आफ्नो धारणा राख्दा एमाले सांसदले अवरोध गरेका थिए । विवाद बढ्दै गएपछि सभामुख सापकोटाले प्रयोग गरिएको अमर्यादित शब्द हटाउने निर्णय गर्नुपरेको थियो ।

सांसद महतले भने, ‘प्रतिपक्षीको व्यवहार हेर्दा बोल्न पाइँदैन कि भन्ने त्रासमा थिएँ । म अहिले पनि अलि मोटो र ठूलो स्वर गर्ने हो भने अवरोध आउँछ कि भन्ने चिन्तामै छु । उहाँहरु धित मरुञ्जेल तीन घण्टा गाली गर्नुहुन्छ । र धित मरिसकेपछि यसलाई अवरोध गर्न खोज्नुहुन्छ । फेरि ताला लगाउन खोज्नुहुन्छ।’

उनले आफूले ताला र चाबी ल्याएको उल्लेख गरे। उनले भने, ‘तपाईंहरु धित मरुञ्जेल बोल्नुहोला त्यसपछि हामी बोल्दा यो ताला र चाबी लगाइदिनुहोला । जतिबेला बोल्न मन लाग्छ आउनुहोला र यो ताला चाबी खोल्नुहोला अनि बोल्नुहोला । मैले सभामुखज्यूलाई बुझाएँ ।’ गाली गर्नेलाई संसद्मा बोल्न तीन घण्टा र कर्णालीको आवाज बोल्नेलाई तीन मिनेट छुट्याइएकामा सांसद महतले आपत्ति प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

२०७९ जेष्ठ १४, शनिबार १६:५१
काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमान्सथल स्रोतका अनुसार कास्कीको पोखराबाट मुस्ताङको जोमसोम उडेको उडेको ९ एन एईटी विमान जहाज सम्पर्कविहीन भएको हो । उक्त विमानमा क्याप्टेन प्रभाकर घिमिरेले रहेको बताइएको छ । सो विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेको जाइएको […]