सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

उज्यालो रैबार   ।   २०७९ मंसिर २, शुक्रबार १६:००

निर्वाचनका लागि सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्‍याइएको छ । एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख जनशक्ति खटिएका छन् । 

आयोगका अनुसार निर्वाचनमा स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले पर्यवेक्षण गर्नेछन् । ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षक अनुगमनमा खटिने भएका छन् । यता मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित एक हजार पाँच सय ५८ कर्मचारी र एक हजार आठ सय सुरक्षाकर्मी खटाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश शुभाषबाबु गिरीले जानकारी दिए ।निर्वाचनमा खटिएका कर्मचारीले मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री मतदानस्थल पुर्‍याएका छन् ।

दश स्थानीय तह रहेको खोटाङमा एक सय ३६ मतदानस्थल, एक सय ९४ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्रमा चारवटाका दरले मतपेटिका पठाइएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए ।

मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार–प्रसार र शान्ति भङ्ग गर्न निषेधसम्बन्धी सूचना टाँस गरेर मतदान केन्द्र तथा मतदानस्थल निर्माण गर्ने जनाइएको छ । आजबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा मत गणनास्थल तयारीको काम सुरु गरिने जनाइएको छ ।

आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार सात सय ९२ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४४ हजार चार सय ७४ मतदाता थिए । जिल्लामा एक प्रतिनिधिसभासहित दुई प्रदेशसभाको लागि निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

BLUE ACADEMY ले दोश्रो पटक जनरल मेकानिकल र नि.उ.स को तयारी कक्षा संचालन गर्दै

२०७९ मंसिर २, शुक्रबार १६:००
मेकानिकल ईन्जिनियरिङका बिभिन्न तयारी कक्षा हरु संचालन गराउदै आइरहेको ईन्स्टिच्युट Blue Academy  ले यही मङ्सिर-६ गते बाट जनरल मेकानिकल र नि.उ.(रा.प.तृतीय श्रेणी) लोकसेवा तयारी कक्षाहरू पुनस् सञ्चालन गर्ने भएको छ। https://www.facebook.com/BlueAcademy.Nepal लोक सेवा आयोगले  जनरल मेकानिकल र नि.उ.स (रा.प.तृतीय श्रेणी) मा हरेक  बर्ष न्युन संख्यामा मेकानिकल ईन्जिनियर माग्दै आएकोमा यस बर्ष […]