जुम्ला विमानस्थलकाे धावनमार्ग विस्तार हुदै

उज्यालो रैबार   ।   २०८० जेष्ठ ३२, बिहीबार १६:०३

सुर्खेत । जुम्ला विमानस्थल स्तरोन्नति हुने भएको छ । अहिले सञ्चालनमा रहेको विमानस्थललाई विस्तार गर्न थालिएको हो । पाँच वर्षअघि नै विस्तार गर्ने भनिएको विमानस्थलको काम अघि बढ्न सकेको थिएन । अब भने उक्त काम अघि बढाइएको छ ।

विमानस्थल विस्तारका लागि सर्भेलगायत पूर्वतयारीका सम्पूर्ण काम सम्पन्न भइसकेको नागरिक उड्डयन प्राधिकरण जुम्लाका उपप्रबन्धक सन्तोष अधिकारीले जानकारी दिए । उनले भने, ‘विमानस्थल विस्तारको काम आइतवारदेखि सुरु भएको छ ।’ उनका अनुसार विमानस्थल विस्तारका लागि १८३।०५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ ।

विमानस्थल विस्तार गर्ने योजना अघि सारिएपनि बजेट भने सरकारले तोकेको छैन । जग्गाको मुआब्जाका लागि मात्र ४४ करोड बजेट अनुमान गरिएको अधिकारीले बताए । हाल जुम्ला विमानस्थलको धावनमार्ग ६ सय ७० मिटर छ । जसका कारण साना कार्गो जहाज मात्रै अवतरण हँुदै आएका छन् । विस्तारित विमानस्थलको धावनमार्ग एक हजार ५० मिटरसम्म विस्तार गरिने अधिकारीले जानकारी दिए ।

जुम्लामा ठूलो विमानस्थल आवश्यक भएपछि संघीय सरकारले नै विमानस्थल विस्तार योजना अघि बढाएको हो । नेपाल सरकारको जेठ २ गते बसेको मन्त्रीपरिषद् बैठकले जुम्ला विमानस्थल विस्तार गर्ने निर्णय गरेको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटमा समेत जुम्ला विमानस्थल विस्तार गर्ने योजना समेटिएको छ । २०७५ सालमा डिपीआरलगायतका कामको सुरुवात गरिए पनि विस्तारको काममा भने ढिलाइ भएको हो ।

जुम्लाबाट जहाजमा यात्रा गर्ने यात्रुको चाप बढ्दै गएकाले विमानस्थल विस्तारको माग गरिएको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए । लामो प्रयासपछि विमानस्थल विस्तारको कामले गति लिएको उनको भनाइ छ । विमानस्थल विस्तारपछि जुम्लावासीको हवाई यात्रा सहज र गुणस्तरीय हुने विश्वास रहेको कठायतले जानकारी दिए ।

कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईंले विमानस्थल विस्तारको काम सरकारले निर्णय गरे अनुसारकै कार्यन्वयनमा लैजानुपर्ने बताए । जुम्लाबाट छिमेकी जिल्ला हुम्ला, मुगुमा उडान हुनेगरी विमानस्थलको योजना बनेको उनको भनाइ छ । उनले भने, ‘पटक–पटक विमानस्थल विस्तारको योजना आउने तर कार्यान्वयन नहुने भइरहेको छ । सरकारले यस कुरालाई ध्यान दिनुपर्छ । होइन भने योजना त धेरैपटक बने ।’ एयरलाइन्सको मनपरीले गर्दा नागरिकले सास्ती पाइरहेको भन्दै उनले नियमित रूपमा उडानसमेत नभएको बताए । एयरलाइन्सहरूले आफू अनुकूल उडान गर्ने गरेका छन् ।

नयाँ टर्मिनल भवन बन्ने
जुम्ला विमानस्थलमा नयाँ सुविधायुक्त टर्मिनल भवन बन्ने भएको छ । उपप्रबन्धक अधिकारीका अनुसार विमानस्थलको टर्मिनल भवन विस्तार तथा स्तरोन्नति गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणको योजनाअनुसार सुविधायुक्त भवन निर्माण गरिने छ । अधिग्रहण हुने जग्गाको मुआब्जाको काम पहिलो चरणमा गरिनेछ । उनले भने, ‘विमानस्थलमा बन्ने अधिकांश संरचना नयाँ निर्माण हुनेछन् । हाल सञ्चालन भइरहेको विमानस्थलको उत्तरपट्टी विमानस्थल विस्तार हुँदैछ ।’ विस्तार गरिने क्षेत्र नापजाँच गर्ने, समिति गठन गर्ने, जग्गा मुआब्जाको क्षेतिपूर्ति वितरण गर्ने काम सुरु हुने उनले जानकारी दिए । टावर, टर्मिनल भवन, सुरक्षागाड भवनलगायतका सम्पूर्ण नयाँ संरचना निर्माण हुनेछन् ।

यात्रुको चाप जुम्लाबाट जहाजमा यात्रा गर्ने यात्रुको चाप बढ्दै गएको छ । जुम्लावासीको हवाई यात्रा सहज हुनेगरी विमानस्थल विस्तारको काम अघि बढेको हो । हाल जुम्ला विमानस्थलमा साना १८ र १९ सिटे जहाज अवतरण हुने गरेका छन् । अहिले सीता, तारा, समिट र नेपाल एयरलाइन्सका साना जहाज सञ्चालनमा छन् ।

नेपाल र तारा एयरलाइन्सका १९ सिटे टुइनेटर जहाज छन् भने सीता र समिटका १८ सिटे साना जहाज रहेका छन् । ४२ सिटे ठूला जहाज सञ्चालनमा ल्याउनेगरी विमानस्थल विस्तार भइरहेको छ । दैनिक सयौँ यात्रुको चाप हुने जुम्ला विमानस्थलमा दुई वटासम्म उडान हुनेगरेका छन् । यात्रुको चाप भने धेरै नै छ । – यो समाचार साझा बिसौनी दैनिकमा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश अस्पताललाई हेलिप्याड सहित ५ सय शैय्याको बनाईदै

२०८० जेष्ठ ३२, बिहीबार १६:०३
सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई हाल ३ सय बेडसहितको सुविधा रहेकोमा अब भवनमा ५ सय शैय्या पु¥याइने भएको हो । साथै हेलिप्याड पनि बनाउने गरी निर्माण सम्झौता गरिएको छ । प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा। डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौँबीच अस्पतालको तला थपका लागि बुधबार सम्झौता गरिएको हो […]