कर्णालीमा लागुपदार्थको जालोमा फस्दै महिला,

उज्यालो रैबार   ।   २०८० श्रावण १६, मंगलवार ०९:१९

सुर्खेत । वीरेन्द्रनगरमा लागुपदार्थ कारोबार र सेवनको हट स्पट बन्दै गएको छ । पछिल्लो समय सुर्खेत प्रहरीले गत असार १ देखि साउन ३ गतेसम्मको अवधिमा वीरेन्द्रनगरका विभिन्न ठाउँबाट लागुपदार्थ कारोबार तथा सेवनको मुद्दामा २६ जनालाई पक्राउ गरेको छ ।

 

सुर्खेतमा मात्रै होइन, बर्सेनि कर्णालीका माथिल्ला जिल्लामा सयौँको संख्यामा युवाहरू लागुपदार्थसहित पक्राउ परिरहेका छन् । लागुपदार्थको मुख्य ट्रान्जिट बनेको सुर्खेतबाट यातायातको पहुँच बढेसँगै बिस्तारै दुर्गम जिल्लामा समेत लागुपदार्थ प्रयोगकर्ताहरू बढ्दै गएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीले गत आर्थिक वर्ष २०७९र०८० देखि हालसम्म कर्णालीका सात जिल्लाबाट १ सय १४ वटा लागुपदार्थ सेवन र प्रयोग गरेको मुद्दामा २ सय १४ जनालाई पक्राउ गरेको छ । जसमा १ सय ९८ जना पुरुष र १६ जना महिला रहेका छन् ।

लागुपदार्थको मुद्दाको जिल्लागत तथ्यांक हेर्दा सबैभन्दा धेरै सुर्खेतमा ८८ वटा मुद्दामा १ सय ३७ पुरुष र १२ महिला गरी १ सय ४९ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । जुम्लामा १२ मुद्दामा ३० पुरुष र एक महिला पक्राउ परेका छन् । यस्तै, मुगुमा तीन मुद्दामा सात पुरुष र एक महिला, दैलेखमा चार मुद्दामा नौ पुरुष पक्राउ परेका छन् ।

कालीकोटमा तीन मुद्दामा पाँच पुरुष एक महिला, जाजरकोटमा दुई मुद्दामा सात पुरुष, एक महिला र सल्यानमा दुई मुद्दामा तीन पुरुष पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक उल्लेख गरिएको छ । पक्राउ पर्नेहरू प्रायःजसो ३० वर्षमुनिका युवा तथा युवती छन् ।

शिक्षाको कमी, बेरोजगारी, पारिवारिक स्थिति, देखासिकी, सामाजिक तथा आर्थिक कारण युवाहरू लागुऔषधको दुर्व्यसनीमा फस्दै गएका छन् । आवश्यक कानुनको जानकारी नहुनु तथा लागुपदार्थको दीर्घकालीन समस्याका बारेमा आवश्यक जनचेतनासमेत नहुनुले पनि युवाहरू लागुपदार्थको दलदलमा फस्दै गएका छन् ।

लागुपदार्थ रोकथाम र न्यूनीकरणका लागि स्थानीय तह तथा प्रदेश सरकारले प्रभावकारी कार्यक्रमहरू अगाडि सारिनुपर्नेमा त्यसो भने हुन सकेको छैन । प्रहरीको सक्रियताले लागुपदार्थ कारोबार र प्रयोगको ग्राफ बढेको भए पनि यसमा संलग्न मुख्य कारोबारी भने अझैसम्म पनि पक्राउ पर्न सकेका छैनन् ।

पछिल्लो समय लागुऔषधको कारोबार र सेवनमा महिलाको संख्या बढ्दै पाईएको छ । तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने कर्णालीमा महिलाहरू लागुऔषधको मुद्दामा ठूलो संख्यामा पक्राउ पर्न थालेका छन् । आर्थिक वर्ष २०७७र०७८ मा १ सय २१ जना पुरुष पक्राउ पर्दा १५ जना महिला पक्राउ परेका थिए ।

यस्तै, आर्थिक वर्ष २०७८र०७९ मा १ सय ६४ जना पुरुष पक्राउ पर्दा आठ जना महिला पक्राउ परेका थिए । गत आर्थिक वर्ष २०७९र०८० मा १ सय ९८ जना पुरुष पक्राउ पर्दा १६ जना महिला लागुऔषधको सेवन र कारोबारको मुद्दामा पक्राउ परेका छन् । महिलाहरू पारिवारिक र आर्थिक समस्याका कारण लागुऔषध ओसारपसार तथा सेवनमा लाग्दै गएको प्रदेश प्रहरी कार्यालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक,

२०८० श्रावण १६, मंगलवार ०९:१९
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वप ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बिहीबार अपराह्न ४ बजे केन्द्रीय समिति बोलाइएको पार्टीका प्रवक्ता रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने उनले बताए। बैठकमा अनुशासन एवं आचरण सम्बन्धी नियमावलली उपर छलफल एवं निर्णय गर्ने एजेण्डा छ। त्यस्तै बझाङ र रूपन्देहि […]

सम्बन्धित समाचार