काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० तत्काल सरकारमा नजाने भएको छ । सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो ।
बैठकमा सहभागी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सत्ता गठबन्धन दलबीच भएको सहमतिअनुसार भए सरकारमा सहभागी हुन पनि सकिनेछ । तर, उक्त सहमति नहुँदा तत्काल रास्वपा सरकारमा सहभागी हुन नसक्ने उनले बताए ।
पार्टी सभापति रवि लामिछानेको नागरिकता विवाद मुद्धामा सर्वोच्चले दोषी ठहर गरेपछि स्वतः रुपमा मन्त्री पद खारेज भएको थियो भने पार्टी सरकारबाट बाहिरिने निर्णय भएको थियो ।
पार्टी सरकारबाट बाहिरिनुको एउटै कारण थियो– गृह मन्त्रीमा लामिछानेलाई पुनः नियुक्त । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको पूर्ण फैसला र राहदानी विवाद नसल्टिएको अवस्थामा लामिछानेलाई पुनः गृह मन्त्रालय फर्काउन चाहेका थिएनन् ।
रविलाई गृह मन्त्री बनाउन प्रचण्ड तयार नभएपछि रास्वपा सरकारबाट बाहिरिने निर्णय गरेको थियो । रास्वपा माघ २२ गते पत्रकार सम्मेलन आयोजना गरेर सरकारबाट बाहिरिएको थियो । सरकारबाट बाहिरिए पनि रास्वपाले सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।