आइतबार मैत्रीपूर्ण खेलका लागि नेपाल र बंगलादेश तयार

उज्यालो रैबार   ।   २०८० असार २७, बुधबार २०:५६

२७ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।

ढाकामा साँझ पौने ६ बजे सुरु हुने मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् ।

 

तर नेपाल र बंगलादेश फरक परिस्थितीबाट यो खेल खेल्दैछन् । गत वर्ष काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिपमा यी दुई टोली फाइनलमा भिड्दा घरेलु टोलीलाई हराएर बंगलादेशले उपाधि जितेको थियो ।

त्यसपछि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल र भियतनामसँग ओलम्पिक छनोटमा दुई खेल गरी चार खेल खेलिसकेको छ।

बंगलादेशले भने साफ जितेपछि कुनै खेल खेलेको छैन । नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ ।

बंगलादेश भने मुख्य फरवार्ड सविना खातुनको कप्तानीमा खेल्नेछ ।

खेलअघिको बुधबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले भोलिको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

उनले तयारी राम्रो भएको र त्यसै अनुसार मैदानमा प्रदर्शन गरे खेल जित्न सकिने बताए । नेपाली टोलीको मुख्य खेलाडी सावित्रा भण्डारी साम्बाको पुनरागमनले टोली उच्च मनोबलमा रहेको प्रशिक्षक थापाले बताए ।

गत भदौमा घरेलु मैदानमा भएको साफमा अस्वस्थताका कारण साम्बाले पूरै समय मैदानमा बिताउन पाएकी थिइनन् ।

 

नेपाली टोलीकी अर्की महत्वपूर्ण खेलाडी गीता राना र मिडफिल्डर प्रिती राईले पनि टोलीमा पुनरागमन गरेका छन् ।

गीता भारतसँगको दुई मैत्रीपुर्ण खेलमा घाइते भएपछि टोली बाहिर थिइन् ।

प्रिती राईले पनि घुँडाको सफल शल्यक्रिया पछि पुनरागमन गर्न सफल भएकी छिन् ।

टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले बंगलादेशलाई आफूहरुले कमजोर रुपमा नहेरेको बताइन् । ‘ पहिला जे भयो अब त्यसलाई बिर्सेर अगाडि बढ्नुपर्छ। अहिले हामीसँग साम्बा पनि छ त्यसैले हामीले राम्रो खेल्नेछौं’, उनले भनिन् ।

नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनपछि पहिलो पटक भिड्न लागेका हुन् । साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।

साफ जित्ने टोलीका मुख्य प्रशिक्षक गोलान रोबान्नी छोटानले साफ जितेको केही समयपछि नै बंगालदेशको टोली छाडेका थिए ।

साफ जित्ने टोलीमा रहेका स्ट्राइकर सिरहद जहान सोप्ना र डिफेन्डर आकि खातुन टोलीमा छैनन् ।

बंगलादेश मुख्य प्रशिक्षक मोहबुबुर रहमन लिटुले साफ च्याम्पियनसिपको फाइनलमा आफूहरुले हराएको भए पनि नेपाल बलियो टोली रहेको बताए ।

‘यो पटक नेपाल त्यो हारको बदला लिने प्रयासमा हुनेछ त्यसैले हामीले यो खेललाई र नेपाललाई हल्का रुपमा लिएका छैनौं । हामी उत्कृष्ट खेल प्रस्तुत गर्नेछौं । अहिले सावित्राको पुनरागमनले पनि नेपाली टोली बलियो छ’, उनले भने ।

बंगलादेशकी कप्तान सविना खातुनले पहिला र अहिलेको आफूहरुको टोलीमा धेरै फरक रहेको सुनाइन् । ‘साफपछि हामीले ८ महिना खेल्न पाएका छैनौं । नेपालले खेलिरहेको छ । हामी उत्कृष्ट खेल्ने प्रयास गर्नेछौं,’ उनले भनिन् ।

नेपालकी कप्तान एन्जिलाले पनि नेपालले यो बीचमा चार खेल खेलेकोले त्यसको अनुभव हुने बताइन् । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डोटीमा गाडी दुर्घटना, एकको मृत्यु, ३ जना घाइते

२०८० असार २७, बुधबार २०:५६
डोटी- डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बा१झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ वर्षीय हीरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। घटना […]

सम्बन्धित समाचार