लिभरपुल र चेल्सीबीच बराबरी

उज्यालो रैबार   ।   २०७९ चैत्र २३, बिहीबार ११:४७

लिभरपुललाई आतिथ्यता गरेको चेल्सी घरेलु मैदानको फाइदा उठाउन नसक्दा इङ्लिस प्रिमियर लिग फुटलबअन्तर्गत मंगलबार गोलरहित बराबरीमा रोकिएको छ।

ग्राहम पोर्टर बर्खास्त भएपछि घरेलु मैदानमा खेलेको पहिलो खेलमा लिभरपुलविरुद्ध चेल्सीले अंक बटुल्ने अवसर गुमाएको हो। एस्टन भिल्लासँग घरेलु मैदानमा लज्जास्पद हार भोगेपछि चेल्सीले अघिल्लो आइतबार पोर्टरलाई बर्खास्त गरेको थियो। यससँगै चेल्सी तेस्रो पटक स्थायी प्रशिक्षको खोजीमा छ। पोर्टरलाई बर्खास्त गर्नुअघि चेल्सीले थोमस टचेललाई बर्खास्त गरेको थियो। पोर्टरको बर्खास्तिपछि चेल्सीले उसका कर्मचारी ब्रुनो साल्टोरलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको छ। तर पहिलो खेलमा नै उनले घरेलु समर्थकलाई खुसी दिलाउन भने असफल भए। यद्यपि तालिकामा भने एक अंक थप्न सफल भएको छ।

‘पछिल्लो समय चेल्सी भावनात्मक हिसाबले गुज्रिरहेको छ। खेलाडीलाई खेलमा केन्द्रित गराउनुपर्ने चुनौती छ। अहिलेको अवस्थालाई नियाल्दै भन्ने हो भने यो सिजन खेलाडीलाई निकै कठिन छ। तर पछिल्लो समय हामीले प्राप्त गरेको नतिजा नै हाम्रो बलियो पक्ष हो,’ अन्तरिम प्रशिक्षक ब्रुनोले भने, ‘मनैदेखि खेल्न मैले खेलाडीलाई आग्रह गरेको छु, जुन मैदानमा देखिएको छ। खेलमा हामीले मौका बनाए पनि सदुपयोग गर्न चुक्यौं।’

यस्तै पाहुना टोली लिभरपुलले पनि खेलमा सुखद नतिजाका लागि निकै प्रयास गरे पनि असफल हुन पुगेको थियो। पहिलो हाफमा माटियो कोभासिचले चेल्सीलाई अग्रता दिलाउने अवसर पाए पनि टोली त्यसको सदुपयोग गर्न चुकेको थियो। लिभरपुलका इब्राहिम कोनाटेले उनको प्रहार गोललाइनबाट क्लियर गरेका थिए। काइ हाभार्टजको गोलमा चेल्सीले अग्रता लिएको थियो। तर भिएआरले हाभाटर््जले प्रहार गर्नुअघि उनको हातले बल छोएको भन्दै सो गोललाई मान्यता दिएन। मोहम्मद सालाह, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, एन्ड्य्रु रोबर्टसन र भर्जिल भान डाइकबिना मैदान उत्रिएको योर्गान क्लोपको टोली चेल्सीलाई रोक्न सफल भयो। यससँगै चेल्सी २९ खेलमा ३९ अंकसहित ११औं स्थानमा छ। यस्तै २८ खेलमा ४३ अंक जोडेको लिभरपुल आठौं स्थानमा छ।

यस्तै भ्रमणलाई अपेक्षा अनुसारको बनाउन असफल लिभरपुलका प्रशिक्षका योर्गान क्लोपले टोलीमा निकै चुनौती रहेको र यसका लागि सुधार आवश्यक रहेको बताए। टोली बनाउनका लागि आफ्नो प्रयास निरन्तर रहे पनि अपेक्षाअनुसार टोलीबाट प्रदर्शन नहुनु दुखद भएको क्लोपले थपे।

‘अहिले टोलीमा धेरै चुनौती देखिएका छन्। पाएका केही अवसर अग्रपंक्तिले सदुपयोग गर्न असफल भइरहेको छ,’ क्लोपले भने, ‘टोली बनाउनका लागि निरन्तर प्रयासमा छु। अपेक्षा अनुसार टोलीबाट प्रदर्शन हुन सकेको छैन।’

प्रिमियर लिग फुटबलअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दा अर्को खेलमा लिड्स युनाइटेडले नटिङ्घम फरेस्टलाई पनि समान २–१ ले हरायो। अर्को खेलमा ब्राइटनले बर्नमाउनथलाई २–० ले स्तब्ध बनायो। जारी सिजनको प्रिमियर लिगमा आर्सनल २९ खेलबाट ७२ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा म्यानचेस्टर सिटीले २८ खेलबाट ६४ अंक बटुल्दै पछ्याइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसईई दिइरहेका १ सय १६ नक्कली परीक्षार्थी पक्राउ

२०७९ चैत्र २३, बिहीबार ११:४७
मोरङ- मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन्। अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो। […]