२७ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।
ढाकामा साँझ पौने ६ बजे सुरु हुने मैत्रीपूर्ण खेलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षक र कप्तानले बताएका छन् ।
तर नेपाल र बंगलादेश फरक परिस्थितीबाट यो खेल खेल्दैछन् । गत वर्ष काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिपमा यी दुई टोली फाइनलमा भिड्दा घरेलु टोलीलाई हराएर बंगलादेशले उपाधि जितेको थियो ।
त्यसपछि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल र भियतनामसँग ओलम्पिक छनोटमा दुई खेल गरी चार खेल खेलिसकेको छ।
बंगलादेशले भने साफ जितेपछि कुनै खेल खेलेको छैन । नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ ।
बंगलादेश भने मुख्य फरवार्ड सविना खातुनको कप्तानीमा खेल्नेछ ।
खेलअघिको बुधबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले भोलिको खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।
उनले तयारी राम्रो भएको र त्यसै अनुसार मैदानमा प्रदर्शन गरे खेल जित्न सकिने बताए । नेपाली टोलीको मुख्य खेलाडी सावित्रा भण्डारी साम्बाको पुनरागमनले टोली उच्च मनोबलमा रहेको प्रशिक्षक थापाले बताए ।
गत भदौमा घरेलु मैदानमा भएको साफमा अस्वस्थताका कारण साम्बाले पूरै समय मैदानमा बिताउन पाएकी थिइनन् ।
नेपाली टोलीकी अर्की महत्वपूर्ण खेलाडी गीता राना र मिडफिल्डर प्रिती राईले पनि टोलीमा पुनरागमन गरेका छन् ।
गीता भारतसँगको दुई मैत्रीपुर्ण खेलमा घाइते भएपछि टोली बाहिर थिइन् ।
प्रिती राईले पनि घुँडाको सफल शल्यक्रिया पछि पुनरागमन गर्न सफल भएकी छिन् ।
टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाले बंगलादेशलाई आफूहरुले कमजोर रुपमा नहेरेको बताइन् । ‘ पहिला जे भयो अब त्यसलाई बिर्सेर अगाडि बढ्नुपर्छ। अहिले हामीसँग साम्बा पनि छ त्यसैले हामीले राम्रो खेल्नेछौं’, उनले भनिन् ।
नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनपछि पहिलो पटक भिड्न लागेका हुन् । साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।
साफ जित्ने टोलीका मुख्य प्रशिक्षक गोलान रोबान्नी छोटानले साफ जितेको केही समयपछि नै बंगालदेशको टोली छाडेका थिए ।
साफ जित्ने टोलीमा रहेका स्ट्राइकर सिरहद जहान सोप्ना र डिफेन्डर आकि खातुन टोलीमा छैनन् ।
बंगलादेश मुख्य प्रशिक्षक मोहबुबुर रहमन लिटुले साफ च्याम्पियनसिपको फाइनलमा आफूहरुले हराएको भए पनि नेपाल बलियो टोली रहेको बताए ।
‘यो पटक नेपाल त्यो हारको बदला लिने प्रयासमा हुनेछ त्यसैले हामीले यो खेललाई र नेपाललाई हल्का रुपमा लिएका छैनौं । हामी उत्कृष्ट खेल प्रस्तुत गर्नेछौं । अहिले सावित्राको पुनरागमनले पनि नेपाली टोली बलियो छ’, उनले भने ।
बंगलादेशकी कप्तान सविना खातुनले पहिला र अहिलेको आफूहरुको टोलीमा धेरै फरक रहेको सुनाइन् । ‘साफपछि हामीले ८ महिना खेल्न पाएका छैनौं । नेपालले खेलिरहेको छ । हामी उत्कृष्ट खेल्ने प्रयास गर्नेछौं,’ उनले भनिन् ।
नेपालकी कप्तान एन्जिलाले पनि नेपालले यो बीचमा चार खेल खेलेकोले त्यसको अनुभव हुने बताइन् । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।