वीरेन्द्रनगरमा दुई दिने ‘राष्ट्रिय कचहरी’ सुरु

उज्यालो रैबार   ।   २०८० असार १४, बिहीबार १२:४७

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा ‘राष्ट्रिय कचहरी’ सुरु भएको छ ।
‘राष्ट्रिय कचहरी’कोे उद्घाटन आज कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मंगलबहादुर शाहीले गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै मन्त्री शाहीले संघीयतामा जनताका मागहरु धेरै भएको तर आवश्यकता अनुसार पुरा हुन नसकेको बताउनुभयो । “जनताका माग र आवश्यकता पुरा गर्ने आश्वासन दिइयो” उहाँले भन्नुभयो, “तर ती पुरा नहुँदा उनीहरुमा निराशा बढेको छ ।” संघीय व्यवस्था राम्रो हुँदा पनि त्यसको व्यवस्थापन उचित नहुँदा केही असन्तुष्टि उब्जेको भन्दै यसको सुदृढीकरण आवश्यक रहेको उहाँको भनाई थियो ।


लुम्बिनी प्रदेशसभा सदस्य सञ्जु चौधरीले संघीयताको पाँच वर्षीय कार्यकाल बितेको तर अपेक्षित प्रतिफल नदेखिएको टिप्पणी गर्नुभयो । यसका लागि तीन तहका सरकारको कार्यलाई समीक्षा गर्नुपर्ने उहाँको भनाई थियो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रत्येक वर्ष आउने राष्ट्रिय बजेट पञ्चवर्षीय योजनाको सिद्धान्त, उद्देश्य र मार्गनिर्देशन अनुसार आउँछ आउँदैन भनेर प्रश्न गर्नुभयो ।
उहाँले तीन तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम नभएको जिकिर गर्नुभयो । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा अर्थविद डा.पोषणराज पाण्डेले समावेशी विकास आजको आवश्यकता हो भन्नुभयो । वैदेशिक रोजगारका लागि दैनिक दुई हजार देश बाहिर जाने अवस्थाले मुलुकको कुल ग्राहस्थ उत्पादन असर परेको उहाँले बताउनुभयो ।
संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन नेपाल तथा भूटानका देशीय प्रतिनिधि केन शिमिजुले विश्वमा बढ्दै गएको असमानता, कोभिड र सिरिया युद्धको असर, राजनीतिक संकट र वातारणीय असरले नेपाल र त्यसमा कर्णाली जस्ता क्षेत्रलाई असर पारेको बताउुनभयो । यसका विषयमा बहुपक्षीय सवाल उठान भएको र यसमा खाद्य तथा कृषि संगठनको आवश्यक सहयोग हुने उहाँको भनाई थियो ।
नगरपालिका संघ नेपालका अध्यक्ष नरुलाल चौधरीले संविधानमा व्यवस्था भएका साझा सूचीका अधिकारहरुको टुंगो नलाग्दा स्थानीय तथा प्रदेश सरकारलाई काम गर्न असहज भएको जनाउनुभयो । संघीय शिक्षा तथा निजामती कर्मचारी ऐन नबनेका कारण पनि समस्या झेल्नुपरेको उहाँले बताउुनभयो ।
स्थानीय सरकार सवलीकरण, द एशिया फाउण्डेसन, अष्ट्रेलियन एड, सेभ द चिल्ड्रेन, गुड नेइबर्स इन्टरनेश्नल, वल्र्ड भिजन, प्लान इन्टरनेश्नल, एक्सन एड, मिसन ईष्ट र प्राक्टिकल एक्सनको सहकार्य र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको आयोजनामा ‘राष्ट्रिय कचहरी’ दुई दिनसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दलितसँग बिबाह गरेको झोकमा घरमा आगो लगाउँने एकजना पक्राउ

२०८० असार १४, बिहीबार १२:४७
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलामा रहेको मामुकेन्द्र परियारको घरमा आगो लगाउँने बसन्तीका दाई हिक्मत गिरीलाई जुम्लाका प्रहरीले पक्राउ गरेको छ। जुम्लाका डिएसपी प्रल्हाद कार्कीले घरमा आगो लगाउने हिक्मतलाई पक्राउ गरिएको जानकारी दिए। उनकाअनुसार किशोरीका दाइले आवेगमा आएर घरमा आगो लगाएको बयान दिएका छन्। मुकेन्दैका दाई भरत नेपालीले बिहानै घर […]