सुर्खेत। कर्णाली प्रदेशको नीतिनिर्माण प्रक्रियामा युवा सहभागिताको विषयमा प्यानल छलफल सम्पन्न भएको छ। मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वक्ताको रुपमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाई, प्रदेश सभा सदस्य तुलसा मल्ल र युवा गैसस महासंघ सुर्खेतका अध्यक्ष रबिन्द्र चन्द रहेका थिए। उक्त बहस कार्यक्रमको सहजिकरण मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले गरेका थिए। नेपाल लिडरसिप एकेडेमि र इन्टरनेस्नल रिपब्लिकन एकेडेमिको आयोजनामा भएको प्रदेश संरचनामा युवा अध्ययन तथा बहस श्रृंखलाअन्तर्गत सञ्चालित कार्यक्रममा कर्णालीका करिब ६० जना युवाहरुको सहभागिता रहेको थियो।
प्यानल छलफलमा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णाली प्रदेशमा युवा परिषद् गठनसम्बन्धी विधयेक अगाडी बढाउने प्रतिवद्वता व्यक्त गरे। उनले कानुन निर्माण प्रक्रियामा युवा सहभागिता वृद्धी गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे। कार्यक्रममा बोल्दै मन्त्री पछाइले युवाहरुलाई नीतिनिर्माण प्रक्रियामा धेरैभन्दा धेरै संग्लग्न गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्लले आफुले कर्णाली प्रदेश सभामा युवाका आवाजहरु उठाउने बताइन्। युवा गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष रबिन्द्र चन्दले कर्णाली प्रदेशमा नीतिनिर्माणमा युवाहरुलाई धेरै भन्दा धेरै सहभागिता गराउन आवश्यक रहेको बताए।